अब गोदावरी नगरपालिकामा पनि बालमैत्री स्थानीय शासन अवलम्वन हुने र घोषणाको प्रक्रियामा अघि बढाउने नगर प्रमुख गजेन्द्र महर्जनले प्रतिबद्धता जनाउनुभएको छ ।
नयाँ संरचनामा असार १७ गते सम्पन्न नगर स्तरीय बाल भेलाको क्रममा यस्तो टिप्पणी आएको हो । वडागत रुपमा बाल भेला पुरा गरी नगर प्रतिनिधि छनौट गरेर नगर स्तरीय बाल भेलाको तयारी गरीएको थियो ।
बाल अधिकारका चारै खम्वा अन्तर्गतका सहभागिताको पाटो लाई ज्यादा ध्यान दिने नगर उप प्रमुख मुना अधिकारीले बताउनुभयो । कार्यक्रममा नगर बाल सञ्जाल पनि गठन भएको थियो । नव गठित नगर बाल सञ्जाल लाई छुट्टै कार्यकक्षको ब्यवस्था गरिने र सक्रिय गराई राख्न नगरपालिकाले विभिन्न कार्यक्रमहरुमा बालबालिकालाई प्रेरित गराईराख्ने पनि नगरका निमीत्त कार्यकारी अधिकृत सन्त बहादुर बस्नेतले जानकारी दिनुभयो।

नगर स्तरीय बाल भेलामा बालबालिकाहरुले आगामी आ.व ०७४ ÷०७५का लागि आफ्नो योजना आफै छानेका छन्। उक्त योजनाको प्राथमिकिकरण लाई नगरसभामा सम्वोधन गरिने कुरामा पनि ढुक्क रहन नगर प्रमुख गजेन्द्र महर्जनले आश्वासन दिनुभएको छ।


बालमैत्री स्थानीय शासन घोषणा हुनका लागि तहगत १६ खुड्कीला र ३९ सुचक पुरा हुनुपर्दछ, गोदावरी नगरपालिकामा केही मात्र सुचक पुरा गर्न बाँकी रहेको र धेरै पुरा भएपनि दस्तावेजीकरणको पाटो लाई सुधार्नुपर्ने कुरामा छलफल भएको बाल भेलाका सहजकर्ता कृष्णमुरारी पुडासैनीले बताउनु भयो ।
कार्यक्रम गोदावरी नगरपालिकाले आयोजना गरेको थियो भने समन्वय सहनशिल दिदिबहिनी समुहले गरेको हो ।

 

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment