२१ बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत बुधबार सिंगापुर प्रस्थान गरेका छन् । बिहीबार सिंगापुरमा आयोजना गरिएको नेपाली पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलनमा सहभागी हुन महत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

थाइल्याण्डस्थित नेपाली राजदूतावास र सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासले नेपाली पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलन आयोजना गर्दैछन् । मन्त्री डा.महतले सिंगापुरमा रहँदा सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिंगापुरका विदेश मामिला एवम् मानव संशाधनसम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । परराष्ट्र मन्त्री डा.महत शुक्रबार सिंगापुरबाट भारत प्रस्थान गर्नेछन् । नयाँदिल्लीमा शुक्रबार आयोजना गरिएको नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको सम्मेलनलाई उनले सम्बोधन गर्नेछन् । दुईदिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री डा.महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।

सो सम्मेलनमा नेपालको आर्थिक कूटनीति अन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदाश बैरागीसहित नेपाल र भारतका विज्ञहरुको प्रस्तुती रहने छ । मन्त्री डा.महत आगामी शनिबार स्वदेश फर्किने प्रेस संयोजक पाठकले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment