उच्चस्तरको टोली केन्द्रबाट छुट्टा-छुट्टै खटियो

२० वैशाख, काठमाडौ । निर्वाचनका लागि उम्मेदवारी दर्ता भए लगत्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनलाई तीव्र पारेको छ । आयोगले केन्द्रबाटै सचिव र सहसचिवको नेतृत्वमा हरेक जिल्लामा उच्चस्तरिय अनुगमन टोली खटाएको हो।

आयोगले बुधबारबाटै उच्चस्तरको टोली खटाइसकेको छ । यस्तै निर्वाचन आयोगले आयुक्तस्तरको अर्को छुट्टै निर्वाचन आचारसंहिता अनुगमन समिति समेत खटाएको छ । आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि आयुत्तहरु इला शर्मा र नरेन् दाहाललाई प्रदेश नम्बर ३, आयुत्त सुधीरकुमार शाहलाई प्रदेश नम्बर ६ र अर्का आयुक्त ईश्वरी पौडेललाई प्रदेश नम्बर ४ को अनुगमन जिम्मेवारी तोकिएको छ ।

सचिव र सहसचिवको छुट्टै अनुगमन टोली

निर्वाचन आयोगले निर्वाचन आचार संहिता कार्यान्वयनको सुष्म अनुगमन गर्न बुधाबारबाट निर्वाचन हुने ३४ जिल्लामा छुट्टा छुट्टै उच्चस्तरिय टोली खटाएको छ । नेपाल सरकारका सचिव र सहसचिव तहका अधिकारीहरुलाई आयोगले उच्चस्तरको सुष्म अनुगमनमा खटाएको हो । टोलीले जिल्ला र स्थानीय तहसम्म आचारसिंहता पालनाको स्थितिबारे अनुगमन गर्ने र त्यसको प्रतिवेदन आयोगलाई पेश गर्नेछ । आयोगले नियमित रुपमा त्यस्तो प्रतिवेदन बुझाउने गरि जेठ २ गतेसम्मका लागि खटाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । उम्मेदवारको मनोनयन दर्ता गरे लगत्तै उम्मेदवारहरुमा निर्वाचन आचार संहिता आकषिर्त भएकोले अनुगमनलाई तिव्रता दिएको आयोगले जनाएको छ ।

अब कुनै उम्मेदवारले आचारसंहिता उल्लंघन गरेमा आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना देखि उम्मेदवारी समेत खारेज गरिदिन सक्नेछ । यसका अतिरित्त आयोगले प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको मातहतमा गाउँपालिकामा दुई जना अनगुमनकर्ता खटाइसकेको थियो । आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि अनुगमन थप कडाइ गर्दै जाने पनि बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment