सामाजिक गैह्रसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) को सहयोगमा संचालित ६ महिने नि:शूल्क सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ । पूर्वी चितवनको शक्तिखोरमा संचालित सो तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको थियो । संस्थाले ३० सै जनालाई नि:शुल्क सिलाइ मेशिनसमेत् उपलब्ध गराएको छ ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका सामाजिक विकास अधिकृत रामहरि न्यौपानेले सहभागीहरूलाई सिलाइ मेशिन हस्तान्तरण गर्नुभएको थियो । सामान्यतः गैह्रसरकारी संस्थाहरूको अधिकांश बजेट गोस्टी तथा सम्मेलनहरूमा खर्च हुने गरेको तर यस संस्थाले सिधै जनताको जनजिविकामा सहायता पुग्नेगरी कार्यक्रम सम्पन्न गरेकोमा उहाँले खुसी व्यक्त गर्नभुयो । संस्थाले राम्रो र पारदर्शी काम गरिरहेको भन्दै न्यौपानेले जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सबै सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो ।

सेवा अहिले नेपालले चितवनलगायत् अन्य जिल्लाहरूमा पनि सीपमूलक तालिम, नि:शुल्क स्वास्थ्य शिविर, बालबालिकाहरूको लागि शिक्षा केन्द्र, उद्धार तथा राहत, विविध शैक्षिक सहयोग, जाडोमा लगाउने कपडा, ब्ल्याङ्केट, झुल वितरणलगायतका सामाजिक कामहरू गर्दै आएको छ ।

छ महिनाअघि ३० जनाले सुरू गरेको तालिममा सबै अर्थात् ३० सै जना दिक्षित भएको र सतप्रतिशत नतिजा प्राप्त भएकोमा आफूहरू निकै उत्साहित भएको संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले बताउनुभयो । साथै उहाँले आवश्यकताअनुसार भविष्यमा पनि यस्तै सामाजिक कामहरू गर्दै जाने बताउनुभयो ।

3

1
2

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment