कमला हमाल
१ चैत, बाँके। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । पार्टीको मेची महाकाली अभियान अन्तर्गत् आज नेपालगञ्जमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र र संविधानमाथि नै आक्रमण भइरहेको बताउनुभयो ।

सप्तरीमा भएको आक्रमण एमालेमाथि नभई सिंगो लोकतन्त्र र संविधानमाथिको नै आक्रमण भएको उहाँको भनाई थियो । देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न चाहने केही तत्वहरुका कारण अस्थिरता बढिरहेको अध्यक्ष ओलीले बताउनुभयो । एमालेले दंगा गरायो भनेर भ्रम फिजाउँदै हिंड्नेहरु एमालेको लोकप्रियता देखेर अत्तालिएको उहाँले बताउनुभयो । २ महिना अघि घोषणा गरिएको कार्यक्रमलाई अहिले आएर मधेशवादी दलले कालो झण्डा देखाउँदैमा नरोकिने भन्दै उहाँले एमालेले कार्यक्रम सफल पारेरै छाड्ने बताउनुभयो ।

संविधानले कसैलाई भेदभाव नगरेको भन्दै उहाँले संविधान संशोधनको कुनै आवश्यकता र औचित्य नभएको जिकिर गर्नुभयो । “अहिलेको आवश्यकता चुनाव हो, संशोधन होइन,” अध्यक्ष ओलीले भन्नुभयो । एमाले अध्यक्ष ओलीले मधेशी मोर्चालाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गर्नुभयो । एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने उहाँको भनाई थियो । मधेश केन्द्रित दलहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका ओलीले मधेशी दलहरु रहेसम्म मधेशको समस्या समाधान नहुने ठोकुवा गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले मधेशबादी दलहरुको क्रियाकलापले मधेशलाई नै घाटा भइरहेको बताउनुभयो । नेता नेपालले मधेसी दलका नेताहरुले मधेसलाई अधिकार दिइएन भनेर गरेको प्रचारका पछाडि लाग्नु भनेको कागले कान लग्यो भनेर आफ्नो कान छाम्नुको साटो कागका पछाडि दौडिनु जस्तै हो, भन्नुभयो । नेपाली भूमिभित्र भारतीय सैनिकले गोली हानेर नेपाली नागरिकलाई मार्दा पनि भारतसँग कुरा गर्न नसक्ने लाचार सरकारका कारण नेपालीको शिर निहुरिएको उहाँको भनाई छ । सभालाई उपाध्यक्ष बामदेव गौतम, पूर्व मन्त्री लालबाबु पण्डित लगायतले सम्बोधन गर्नुभएको थियो । सभामा पूर्व अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल लगायतको सहभागिता थियो । नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्ने प्रयास स्वरुप आयोजना गरिएको बन्दका क्रममा बाँकेमा दुइराउण्ड हवाइ फायर र ४ राउण्ड अश्रुग्यास फायर भएको छ । बाँकेको सोनपुर गाउँ विकास समिति र उढरापुर गाउँविकास समितिको सिमामा पर्ने सोनपुर गाविस वडा नम्बर ८ गोन्हनामा आन्दोलनकारीसंग दोहोरो झडपका क्रममा दुइ राउण्ड हवाइ फायर र ४ राउण्ड अश्रुग्यास फायर गरेको हो । बन्दका क्रममा सवारी साधन सञ्चालन गर्न रोक लगाइरहेका आन्दोलनकारीहरुलाइ प्रहरीले हटाउन थाले पछि झडपको स्थिती बनेको थियो । प्रहरीले बन्दकर्तालाइ हटाउँन खोज्दा लाठी चार्ज गरेपछि बन्दकर्ताले प्रहरी माथी ढुङ्गामुडा गरेका थिए । प्रहरी माथी ढुङ्गामुडा गर्न थाले पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुइ दुइ राउण्ड अश्रुग्यास र नेपाल प्रहरीले दुइ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अश्रुग्यास र हवाइ फायरबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले आन्दोलनरत मोर्चाका २ जना कार्यकर्तालाइ निजयन्त्रणमा समेत लिएको छ ।

आन्दोलनकारीहरुले शान्तपूर्ण गरेको आन्दोलनका क्रममा प्रहरीले आफुहरु माथी हस्तक्षेप गरेको उनीहरुको आरोप छ । यसैबिच एमालेको मेची महाकाली अभियान बिथोल्ने प्रयासस्वरुप आयोजना गरिएको बन्दका क्रममा बाँकेको उढरापुरमा एउटा यात्रुबाहक बसमा आगजनी भएको छ । बर्दियाबाट दाङको तुलसीपुरतर्फ जादै गरेको भे १ ख २०४२ नम्बरको बसमा आज बिहान बन्दकर्ताले आगजनी गरेका हुन्। बन्द अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले बसमा आगजनी गरेर भागेको बसका चालकले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक एसपी टेकप्रसाद राईले आगजनीबाट बसको केही सिटहरु जलेको बताउनुभएको छ । बसमा यात्रुहरु नभएकाले मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Leave a comment