-जगदीश पोखरेल

वर्तमान राजनीति

सानो देश, सानो जनसंख्या, ठूलो संख्याका राजनीतिक दल र भ्रष्ट्राचारमा लिप्त जनताप्रति अनुत्तरदायी राज्यसंयन्त्र । यही नै हाम्रो देश नेपालको लामो समयदेखिको राजनीतिक परिचय बनेको छ ।

पाँच दशक अघिसम्म नेपालजस्तै आर्थिक अवस्था भएको देश दक्षिण कोरियाले संसारलाई चकित पार्ने गरेर प्रगति गरेको छ । हाम्रो सामु अरू पनि थुप्रै देशका उदाहरणहरू छन्, जसले छोटो अवधिमै नपत्याउँदो आर्थिक प्रगति गरेका छन् । त्यो के चिज होला, जसले आजसम्म पनि हामी नेपालीहरूलाई चाहिँ मागेरै खाने बनाएको छ ?

दक्षिण एसियामा पछिल्लो २६ वर्षमा भएका सरकार परिवर्तनको संख्यालाई नियाल्दा नेपाल भन्ने देश वास्तवमै अधोगतितिर लम्कदैछ भन्ने कुरा जोकसैले पनि बुझ्न सक्छ । २६ वर्षमा श्रीलंकामा ५ पटक सरकार परिवर्तन भएछन् । बंगलादेशमा ९, भारतमा १० र पाकिस्तानमा १२ पटक सरकार परिवर्तन भएछन् । यो अवधिमा नेपालमा चाहिँ २४ पटक सरकार परिवर्तन भएछन् । नेपालका नेताहरू देशविकास गर्न होइन, पदमा पुग्ने र आफ्नो आर्थिक अवस्था सुधार्ने प्रतिस्पर्धामा छन् ।

नेताहरू खराव भए, त्यसैले हाम्रो देश बन्न सकेन भनेर हामी जनताहरू उम्कन सक्दैनौं । किनकि हामी नै हौँ, जसले भोट हालेर यी नेताहरूलाई वैधानिक रूपमा देश लुट्ने लाइसेन्स दिएका थियौं ।

आफ्नो खिलाफ भारतले दश शव्द बोल्यो भने पाकिस्तानले सय शव्दको जवाफ फर्काउँछ । भारतले कुनै पनि हिसावमा हेपेर बोल्न सक्दैन । भोकमरीकै देश भए पनि उत्तर कोरियातर्फ कसैले औंला उठाउन सक्दैन । किनकि त्यहाँका नेता नेपाली नेताजस्ता र जनता हामीजस्ता छैनन् ।

भारतले नेपाललाई पक्कै हेप्छ । भारतले नेपाललाई हेप्नुको पहिलो र मुख्य कारण हामी हौं, हाम्रो राज्यसंयन्त्र हो, अनि बल्ल भारत हो । त्यसैले आफ्नो देशको विकास गरौं, समृद्ध र आत्मनिर्भर बनाऔं, त्यसपछि भारतले चाहेर पनि हामीलाई हेप्न सक्दैन । सँधैभरी मागेरै खाएको छ, अनि किन नहेपोस् त उसले ?

मलाई लाग्छ अब मोदीलाई होइन, ऐना हेरेर आफैलाई गाली गर्ने बेला आएको छ ।

ढिलोचाँडो देशमा चुनाव आउला, भोट हाल्नु अघि दिल खोलेर सबैले सोचौं, के म सही व्यक्तिलाई भोट हाल्दैछु ? कि फेरि पनि एकपटक देश लुट्ने लाइसेन्स दिँदैछु ? गलत व्यक्तिलाई हालिएको भोट भावी पुस्तालाई लगाइएको चोट हो ।

5454

राजनीतिमा ख्रीष्टियान सहभागिता

देशको राजनीतिक अवस्था वास्तवमै नाजुक बनेको छ । यो देशलाई पार लगाउनका निम्ति परमेश्वरको भय मान्नेहरूको राजनीतिमा बलियो उपस्थिति चाहिएको छ । राजनीति आफैमा फोहोर हुँदैन । फोहोर हातखुट्टा बोकेकाहरूले मुहानमा राज गरेका कारण राजनीति नामको यो खोला फोहोर बन्न पुगेको हो । जड्याहा चालकले गराएको गाडी दुर्घटनाको दोष इन्जिनलाई लगाउनु हुँदैन । बाहिर बसेर यो भएन र त्यो भएन भन्नु पनि बुद्धिमानी होइन । यो खोलाको मुहानसम्मै पुगेर हामीले खोला सफा गर्नुपर्छ ।

हाल अस्तित्वमा रहेका राजनीतिक दलभित्र हस्तक्षेपकारी भूमिकामा प्रवेश गरेर वा छुट्टै राजनीतिक दलमार्फत् राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गरेर यो काम सम्भव हुनसक्छ  । दु:खको कुरा “बिहानीले दिनको संकेत गर्छ” भनेझैं राजनीतिमा चासो देखाएका ख्रीष्टियान अगुवाहरूको अहिलेको पाराले राम्रो भविष्य भने देखाएको छैन ।  

एकातिर, संसदमा प्रतिनिधित्व गर्नका निम्ति कम्तिमा ३% मत ल्याउनैपर्ने थ्रेसहोल्डको व्यवस्था हुँदैछ । अर्कोतिर, जम्मा जनसंख्याको १.४ % रहेका ख्रीष्टियानहरूले ३-४ वटा फरक फरक पार्टी खोलेर चुनावमा लड्ने तयारी गर्दैछन् ।

एक हुने हो भने केही हुन सक्छ भनेर आशा गर्न सकिन्छ । एकबाट दुई मात्रै हुँदा पनि अस्तित्व समाप्त हुनेछ । तीन र चारको त कुरै नगरौं ।

हात्ती, कुकुर र गधाको कथा

एउटा जंगलमा बस्ने हात्ती र कुकुर एकैपटक गर्भवती भएछन् । हात्तीको गर्भधारण अवधि २२ महिना र कुकुरको गर्भधारण अवधि ३ महिनाको हुन्छ । तीन महिनामा कुकुरले ६-७ वटा बच्चा जन्माएछ । केही समयपछि कुकुर फेरि गर्भवती भएछ, र बच्चा जन्माएछ । कुकुरले ५ पटक बच्चा जन्माउँदा पनि हात्तीले बच्चा जन्माएनछ । छक्क परेर कुकुरले हात्तीलाई सोधेछ, “के तिमी साँच्चै गर्भवती भएकी छौ? मैले कतिपटक बच्चा जन्माइसक्दा पनि तिमीले एकैपटक पनि जन्माएकी छैनौ त !”

हात्तीले जवाफ दिएछ, “मेरो पेटमा भएको कुकुरको बच्चा होइन, हात्तीको बच्चा हो, जन्मेपछि यो क्याउ क्याउ गरेर बस्दैन, यो हिंड्दा धर्तिले महसूस गर्नेछ, धर्ति थर्काएर हिंड्नेछ ।”

६-७ वटाको सट्टामा एउटा होस्, ३ महिनाको सट्टामा लामो समय लागोस्, तर हिंड्दा पनि धर्ति थर्काएर हिंड्ने हात्तीको बच्चा जन्मोस् । कुकुरको बच्चाजस्तै ३-३ महिनामा जन्मिरहने थुप्रै संख्याका पार्टीहरू नभएर लामो समय लागे पनि एउटा मात्रै जन्मने र हिंड्दा पनि धर्ति थर्काएर हिंड्ने हात्तीको बच्चाजस्तो राजनीतिक दल हामीलाई चाहिएको छ ।

“भाइ फुटे, गवार लुटे” भनेझैं हामी लड्नु भिड्नु हाम्रो दुर्भाग्य हो । एकपटक एउटा कुकुर र गधाको बिचमा वादविवाद भएछ । को ठूलो भन्ने कुराको निष्कर्ष निकाल्नका निम्ति उनीहरूले पारी डाँडासम्म दौडने र जसले जित्छ उही ठूलो हुने निर्णय गरेछन् । गधाभन्दा म चाडैं पुगिहाल्छु भनेर कुकुर मख्ख परेछ । दौड सुरू भएछ, गधा र कुकुर दुवै दौडन लागेछन् । गधालाई बाटोमा कसैले अवरोध गरेनछ, तर कुकुरलाई हरेक चोकमा अरू कुकुरहरूले आक्रमण गरेछन् । हरेक चोकमा गरिएको आक्रमणले कुकुरलाई कमजोर बनाएछ । हतार हतार पारी डाँडामा पुग्दा गधा अघि नै पुगिसकेको रहेछ । त्यो देखेर कुकुरले रुँदै भनेछ, “धिक्कार होस् ! आफ्नैहरू मसँग लड्नाले आज म हार्न पुगें ।”  

आफै-आफैमा लड्नु भनेको हामी हार्नु हो । आफ्नैहरूसँग लडेर हामी कदापि सफल हुन सक्दैनौं ।

बाटोमा हिंड्दै गरेको एउटा कुकुरलाई ढुंगा टिपेर हान्नुहोस्, बेत्तोड़ले त्यो भाग्छ तर मौरीको बासस्थानमा हान्नुभयो भने तिनीहरूले तपाईंलाई लखेट्छन् । यो सब एकताको बल हो, मौरी एउटा मात्र भएको भए तपाईंलाई लखेट्न सक्ने थिएन ।

अब हामी मिलेर अगाडी बढ्नुको विकल्प छैन । कसैलाई व्यक्तिगत फाइदा चाहिएको छ भने व्यापार व्यवसाय गर्नुहोस् तर समुदायको प्रतिनिधित्वको नाममा आफ्नो लाभ नखोज्नुहोस् । त्यसप्रकारका गलत सोचहरू कदापि सफल हुन सक्दैनन् ।

“एक बन्नुहोस् र संसदमा प्रतिनिधित्व सम्भव रहेको प्रमाण देखाउनुहोस्, हाम्रो पूर्ण समर्थन (मत) पाउनुहुन्छ, होइन भने हामी हार्नेहरूलाई भोट  हालेर हाम्रो भोट खेर फाल्न सक्दैनौं ।” यो चुनौती राजनीतिमा चासो देखाउने सबै ख्रीष्टियान अगुवाहरूलाई हो ।

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. Dawa Sherpa
    Nov 2, 2016 at 11:13 am

    awsome

  2. min bahadur lama
    Nov 2, 2016 at 2:21 pm

    yo lek ko lagi jagdish vai lai dhenbebad

  3. Samarpan Rai
    Nov 2, 2016 at 2:23 pm

    यो कुरा ढकाल र गिरिले बुझ्नुपरो नत्र रजनीतिको सपना नदेखे हुन्छ…

  4. Sarmila Raut
    Nov 3, 2016 at 11:20 am

    ati man paryo lekh…sabaile kura bujhun

  5. aruna
    Nov 3, 2016 at 11:23 am

    राजनीति गरेर फाइदा खोज्नेहरू होसियार..

  6. Daniel Bhatta
    Nov 3, 2016 at 12:29 pm

    ख्रिस्टियनहरुले खोलेका पार्टीहरु ५० वटा भएपनि फरक पर्दैन तर खुला रुपले सबै समुदायका मानिसहरुको मन जितेर भोट लिन सक्ने नेता र पार्टी चाहियो ¤

  7. bishesh malla
    Nov 3, 2016 at 10:07 pm

    Dheri ramro chha

Leave a comment