दिपेन्द्र भण्डारी 

यौन दुराचारको आरोप झेलिरहेकी दिलशोभाको फोन रेकर्डमा उल्लेख गरिएको मन्दिरअगाडि पुगेर म उभिएँ । कालिमाटीको व्यस्त सडक छेवैमा रहेको गणेश मन्दिरछेउ म जिन्सपाइन्ट र नर्थफेसको कालो ज्याकेटमा थिएँ । तर मलाई कसैले बोलाएन न कोही लिन नै आए । शनिबारको सिमसिमे झरीले रुझाउन थालेपछि कथित आरोपले छटपटाइरहेकी दिलशोभालाई सम्झंदै  ब्लक छापेको गल्लीभित्र छिरेँ । फोन रेकर्डअनुसार यही गल्लिबाट बाहिर उभिएकी महिलालाई लिन कोही आउनुपथ्र्यो, तर यहाँ कोही आएनन् । मन्दिरको ठ्याक्कै पछाडि घरको भुइँतलाको कोठामा पुग्दा खाटमा पल्टिरहेकी एउटी वृद्धा देखिइन् । धुम्म परेको दिन झनै लोडसेडिङले गर्दा कोठा मधुरो थियो । अनुहार चाउरी परेकी, निकै दुब्लीे अँध्यारामा पनि निकै गोरी देखिन्थिन् । उनी मसँगैको सोफामा बसिन् र मेरा दुवै हात च्याप्प समाइन्, ‘लौ बाबु, दिलशोभा नानीलाई जोगाउनुपर्‍यो, मेरो कारणले उनको जिन्दगी नै खेर जाने भयो, उनले जीवनभरि गरेका पुण्यजति सबै बालुवामा पानी हालेजस्तै भए ।’ उनका आँखाबाट खसेको आँसुले मेरा औंलाहरू भिजे । म चुपचाप सुनी मात्रै रहें ।

उनी थिइन्, ७९ बर्षिया  राधिका मानन्धर । पछिल्ला केही दिनयता सबैको ध्यान केन्द्रित  गर्दै आएको समाजसेवी दिलशोभा श्रेष्ठको ‘यौन दुराचार’ प्रकरणकी अर्को मुख्य पात्र । दिलशोभाले यिनै वृद्धाकहाँ राति सुत्नका लागि आमाघरका महिला पठाइदिएकी थिइन् सहयोगका लागि । खबर प्रकाशित भयो, दिलशोभाले यौन दुराचारका लागि आमाघरका महिलाहरू राति अन्यत्र सुत्न पठाउँछिन् भनेर । यत्रो प्रकरणमा मुछिएकी यी वृद्धा थिइन्  मेरी श्रीमतीकी हजुरआमा अर्थात् मेरी बूढी सासू ।hqdefault

वसन्तपुरदेखि पश्चिमतर्फ रहेको चसान्द टोल पुख्र्याैली भएका मानन्धरहरू धेरै पहिल्यै कालिमाटी झरेर व्यापार-व्यवसायमा सामेल थिए । मेरा बूढा ससुरा हरिहर मानन्धरका बाजेहरू पनि त्यो बेलाको सहरी घेरा मानिने विष्णुमती काटेर कालिमाटीमा व्यापार जमाउन आइपुगे । बाजे-ससुराका पालामा उहाँको परिवार चि साहु अर्थात् नुन व्यापारीका नामले त्यो क्षेत्रमा प्रसिद्धी कामाएका थिए । खाद्य संस्थानको चामल, आयल निगमको मट्टतिेल र साल्ट ट्रेडिङको आधिकारिक बिक्रेता भएकाले समाजमा यो परिवारको स्थान उचो थियो ।

झन्डै ३० वर्षअगाडि राधिका मालाई पाठेघरको समस्या देखियो । उपचार क्रममा उहाँलाई २४ पटक भारतको भेलोर लगियो, ४ पटक अप्रेसन भयो । १३ वर्षअघि बाजे-ससुराको मृत्युपछि उहाँमा अन्य जटिल समस्या पनि देखिन थाले । बेहोस हुने, बढी रिसाउने, एकोहोरो जिद्धी गर्ने, बारम्बार बिरामी हुने क्रम चलिरह्यो । कान्छी छोरी-ज्वाइँ डाक्टर भएकाले उहाँले गर्न सक्ने सबै गर्नुभयो । आमालाई नयाँ घरमा राख्दा राम्रो हुन्छ कि भन्ने आशाले छोराहरूले उहाँकै लागि भनेर नयाँ घर बनाइदिए । घरको झ्यालढोकादेखि लिएर रङ र बत्तीसमेत उहाँकै रोजाइअनुसार राखिए । तर किन हो कुन्नि त्यो घरमा सर्न उहाँ मान्दै मान्नुभएन । तीर्थ लैजाने, सतसंगतमा बानी बसाउने गर्दै रहे, तर पनि उहाँमा अचम्मको बानी विकास हुँदै गयो । उहाँको सेवाका लागि भनेर ल्याइएका महिलाहरू विश्वासिला र चिनेजानेको हुनुपर्ने अनिवार्य सर्त  थियो, किनकि उहाँ झपक्कै गहना लगाउन मन पराउनुहुन्थ्यो । जीउमा ४-५ तोलाका सिक्री, टप, औंठी, बाला कहिल्यै छुट्दैनथे । छोरा-बुहारी र आफन्तहरूलाई पनि सबैभन्दा ठूलो चिन्ता उहाँको गहनाको थियो । कतै गहना लुट्न आएकाले उहाँमाथि आक्रमण नगरून् । उहाँको कोठाबाट गहना, पैसा हराउने क्रम पनि बढिरहेको थियो । ८-९ महिनाअघि मात्रै तीनजना युवाले झन्डै एक लाख पर्ने हीराको टप, दुई तोलाको सिक्री र औंठी  दिउँसै चोरेर भागेका थिए ।

सधैं बिरामी भइरहने हुनाले मेरा छोरीहरू उहाँलाई बिरामी मा भन्छन् । छोरा-बुहारीहरू काममा व्यस्त, नाति-नातिनाहरू पनि कोही विदेशमा कसैको बिहे भइसकेको, अनि बूढीको एकोहोरो जिद्धी स्वभावले गर्दा घरमा बेला-बेला खटपट पनि पर्ने गथ्र्यो । चार वर्षअगाडि उहाँ कसैलाई खबरै नगरी दिलशोभाको आमाघर पुग्नुभएछ । छोराछोरीले अनेक गर्दा पनि नमानेपछि अन्ततः २ हप्तापछि घर र्फकनुभयो । त्यसपछि जब मन बहलाउनुपर्‍यो कि उहाँ त्यतै जान थाल्नुभयो । यो चार वर्ष अवधिमा उहाँ जम्मा चारपटक बस्ने गरेर जानुभयो, एकपटक एक हप्ता बाँकी दुईपटक ३-४ दिन गरी । उहाँ आमाघरको विशेष कार्यक्रम र दिलशोभाको जन्मदिनको अवसर पारेर छोरा-बुहारीहरूसँग गइरहनुहुन्थ्यो । दिलशोभा नानीकहाँ जाँदा माइतीमा गएजस्तो लाग्थ्यो रे उहाँलाई ।

बाहिर  सिमसिमे पानी अझै रोकिएको थिएन, आधाजसो रुझेका कपडा टकटकाउँदै अधबैंसे उमेरकी एउटी महिला कोठाभित्र छिरिन् । ‘ए मिरा, आयौ ?’ राधिका माले यति भन्दा-नभन्दै हातको सानो ब्याग कुनामा राखेर हामी दुवैलाई उनले नमस्कार गरिन् । ‘बाबुले चिन्नुभयो ? पत्रिकामा नाम आएको नानी यिनै हुन् नि ।’ अस्ति दिलशोभाले नचाहिने काममा लगायो भनेर भन्ने । धर्मकुमारी थापा, अर्थात दिलशोभाले राति मेरी बूढी सासूकहाँ राति सुत्नका लागि पठाइदिएकी

सहयोगी । उनी शान्त थिइन्, फुङ्ग उडेको उनको अनुहारमा कुनै शृङ्गार थिएन, न त गरगहना नै । राधिका मा बोलिरहँदा उनी हाम्रो कुरा सुनेर बसिरहिन् । कालिमाटीका घरमा उनलाई सबैले मिरा भन्थे । दुई हप्ताअघि मात्रै मैले पहिलोपटक उनलाई भेटेको थिएँ । बिहानै मारवाडी साहुकहाँ सुरक्षाकर्मीको काम गर्थिन्, त्यहाँबाट मासिक आठ हजार तलब आउँथ्यो । उनी भन्थिन्, ‘दसैं-तिहार चाडबाड केही भन्न नपाइने । त्यसपछि आमाघर गयो, दस किलो चामलको भात पकाएर साँझ नछिप्पिँदै कालिमाटी कुरुवा बस्न आउने ।’ उनकी एउटी छोरी थिइन्, उनी होस्टलमा बसेर १२ कक्षा पढ्थिन्, त्यतिखेर म सबैभन्दा यही कुराले प्रभावित भएको थिएँ, ‘हजुर मलाई खानबस्न त मिलेकै छ, यो कमाइले छोरीको फिस र होस्टल खर्च धानेको छु ।’ त्यो दिन उनी उत्साहित देखिन्थिन् ।

मिरा दिदीलाई यसो हेरेँ, उनी केही नबोली एकोहोरो मलाई हेरिरहेकी थिइन् । ‘मैले त माफी मागे हुन्छ भनेको बाबु, तर यो मिरा त मान्दै मान्दिन, यिनीहरूलाई मुद्दा हाल्नुपर्छ पो भन्छे,’ मा बोल्नुभयो । मिरा दिदी बोलिन्, ‘अड्डा-अदालत कहाँ जानुपर्ने हो, जाने हो सर । हामी दुःखी मानिसलाई झनै दुःखी बनाउने । हाम्रो इज्जतमाथि खेल्ने । हाम्रा लागि पनि न्यायनिसाफ त बाँचेकै होला नि,’ उनी आक्रोशित बनिन् ।

राधिका माको सहयोगका लागि दिलशोभाले पठाइदिएकी मिरा दोस्रो महिला थिइन्, अलि पहिले एउटी वृद्धा आएकी थिइन्, तर उनी धेरै दिन बसिनन् रे, मैलेचाहिँ उनलाई कहिल्यै देखिनँ । मिरा भने माघको १६ गतेबाट यहाँ बस्न आएकी रहिछन् । दिलशोभाले फोनैबाट यस्तो लुगा लगाएकी महिला आउँछे भनेपछि राधिका मा मन्दिर छेवैमा कुर्नुभएछ, तर उनी त तरकारी बजारमा पो पुगिछन् । पहिलोपटक भेट नभएपछि दोस्रोपटक दिलशोभा आफैंले मन्दिर अगाडिसम्म मिरालाई छाडेर आएकी रहिछन् ।

मिराको कुरा सुनेपछि मैले दिलशोभालाई फोन गरेँ । उहाँको स्वर दबेको र निकै थाकेजस्तो लाग्थ्यो । म राधिकाको नातिनी-ज्वाइँ भनेर परिचय दिएपछि उहाँ फोनैमा रुन थाल्नुभयो । ‘खै बाबु के सोचेर आमाको सेवा गरूँ भनेको थिएँ, के भयो-भयो,’ उहाँ झन् रुन थाल्नुभयो । मैले दिलशोभालाई कहिल्यै भेटेको छैन, टाढाबाट देखेको मात्रै थिएँ, फोनमा बोलेको पनि यो नै पहिलोपल्ट थियो । तर उहाँको सामाजिक कामका बारेमा चाहिँ मलाई जानकारी थियो । मलाई यति जानकारी पनि थिएन कि राधिका मा बेला-बेला बस्न जाने वृद्धाश्रम त्यही दिलशोभाकै हो भन्ने पनि ।

फोनमा दिलशोभाले भन्नुभयो, ‘बाबु, आमा आफ्नो घरको त्यत्रो सुखसुविधा त्यागेर पनि हामीकहाँ रमाएको देख्दा मलाई औधी खुसी लाग्थ्यो । म उहाँलाई आमाजस्तै मान्थें र उहाँको समस्या देख्दा कसरी सेवा गरूँ जस्तो लाग्थ्यो । आमाका लागि राति सुत्ने सहयोगी चाहियो भनेर उहाँकै छोराले भन्नुभएको थियो । मैले एउटी वृद्ध आमालाई सघाएको मात्रै हुँ । के भयो यस्तो ?’

क्यान्सरले गिजोलेको शरीरलाई भित्तामा अडेस लगाउँदै उहाँले मलाई बारम्बार आग्रह गरिरहनुभयो, ‘बाबु, दिलशोभा नानीमाथि वज्रपात भयो, त्यो पनि मेरो कारणले, हे भगवान् !’ उहाँले धेरैपटक भगवानको  नाम लिनुभयो । म चुपचाप सुनिरहेँ । उहाँकी जेठी बुहारी आइपुग्नुभयो, उहाँलाई सुत्न सजिलो बनाइदिनुभयो । उहाँका अनुसार दिलशोभा बारेमा समाचार आएदेखि उहाँ चिन्तित देखिन थाल्नुभयो रे । राधिका माले मलाई भनिरहनुभयो, ‘बाबु, दिलशोभा नानीमाथि लगाइएको आरोप सबै झुटा हुन्, यो कुरा सबैलाई थाहा दिनु, नत्र मैले पापै-पापको आहालमा पौडनुपर्नेछ ।’ सक्दो गरौंला भनेर म त्यहाँबाट बाहिरिएँ । इकान्तिपुरडटकमबाट 

प्रतिक्रिया लेख्नुहोस्

Comments

  1. LB Chhetri
    Mar 5, 2014 at 1:30 pm

    I read it and am convinced.

  2. Uttam Kumar Sharma
    Mar 5, 2014 at 2:06 pm

    I am convinced too,

  3. Rabindra Man Joshi
    Mar 5, 2014 at 3:17 pm

    हिजो मैले नागरिक दैनिक किन्न छोडेको र फोकटमा पाएपनी नपढ्ने भनेको अहिले भर्खर मोबाईल चलाउदा झस्याङ भयो नागरिक पढ्ने eनागरिक अप्स पो रहेछ हत्तनपत्त झिकिदिये । मन सन्तोष भयो ।

  4. Rabindra Man Joshi
    Mar 5, 2014 at 3:18 pm

    हिजो मैले नागरिक दैनिक किन्न छोडेको र फोकटमा पाएपनी नपढ्ने भनेको अहिले भर्खर मोबाईल चलाउदा झस्याङ भयो नागरिक पढ्ने eनागरिक अप्स पो रहेछ हत्तनपत्त झिकिदिये । मन सन्तोष भयो ।

  5. Bhoj Raj Gurung
    Mar 6, 2014 at 12:38 am

    Patraka haru kalam uthaune ko nam ma kalank pani hundo rahechha

Leave a comment